काठमाडौँ । चर्चित हास्य पात्र ‘बल्छी धुर्बे’का रूपमा दर्शकको मन जितेका मरिचमान श्रेष्ठ अब ठूलो पर्दामा फरक अवतारमा देखिने भएका छन्। उनको निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ, जसले सपनाको पछि लाग्दा भोग्नुपर्ने सहरिया संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।
३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरले गाउँमा हाँसीखुसी हुर्किएको एक सरल पात्रको कथा भन्छ, जो आफ्नो सपना पूरा गर्ने आशामा काठमाडौँ पस्छ। तर पैसा, अवसर र पहिचानको खोजीमा उसले सामना गर्नुपर्ने कठोर यथार्थले कथालाई गहिरो बनाउँछ। ट्रेलरले दर्शकलाई एउटै प्रश्न सोध्छ- के सपनाले सहरमा साँच्चै ठाउँ पाउँछ ?
‘गोबर गणेश’ मरिचमान श्रेष्ठको डेब्यू निर्देशन मात्र होइन, टेलिभिजनबाट फिल्मतर्फको उनको ठूलो कदम पनि हो। सामाजिक कथावस्तुलाई हास्य र संवेदनाको मिश्रणमा प्रस्तुत गर्न सिपालु मरिचमान यसपटक अझ परिपक्व रूपमा देखिएका छन्।
फिल्ममा वर्षा शिवाकोटीको प्रमुख भूमिका रहेको छ भने पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ र विशाल पहाडी लगायत कलाकारहरूको अभिनयले कथालाई थप बलियो बनाएको छ। बल्छी धुर्बे फिल्म्सको निर्माणमा बनेको यो फिल्म १ माघदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
ट्रेलरले दिएको भावनात्मक झड्काले ‘गोबर गणेश’ केवल फिल्म होइन, धेरै युवाको आफ्नै कथा बन्ने संकेत गरेको छ।