इङ्लिस लिग कपको सेमिफाइनलमा लन्डनका दुई ठूला क्लब चेल्सी र आर्सनल आमनेसामने हुने भएका छन्। आर्सनलले रोमाञ्चक पेनाल्टी सुटआउटमा क्रिस्टल प्यालेसलाई ८–७ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। दबाबपूर्ण क्षणमा गोलकिपर केपा एरिजाबालागा नायक बने, उनले म्याक्सेन्स लाक्रोइक्सको निर्णायक पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए।
खेलको ८०औँ मिनेटमा लाक्रोइक्सकै दुर्भाग्यपूर्ण आत्मघाती गोलबाट आर्सनलले अग्रता लिएको थियो। बुकायो साकाको कर्नर क्लियर गर्न नसक्दा बल लाक्रोइक्सको खुट्टाबाट आफ्नै गोलपोस्टभित्र पुगेको थियो। तर, क्रिस्टल प्यालेसले हार नमानेर स्टपेज समयको अन्त्यतिर खेलमा पुनरागमन गर्यो।
स्टपेज समयको पाँचौँ मिनेटमा जेफरसन लेर्माले हेडरमार्फत बल झारिदिएपछि एडम व्हार्टनको फ्रिकिकमा कप्तान मार्क गुएहीले उत्कृष्ट हेडर गर्दै बराबरी गोल फर्काए।
पेनाल्टी सुटआउटमा लाक्रोइक्सको पालोसम्म दुवै टोलीका सबै खेलाडी सफल भएका थिए। अन्ततः केपाले दायाँतर्फ शानदार डाइभ गर्दै लाक्रोइक्सको प्रहार रोक्दा इमिरेट्स रंगशालामा आर्सनल समर्थक उत्साहमा डुबेका थिए।
खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै भने,
“हामीले धेरै अवसर सिर्जना गर्यौँ। अझ बढी गोल गर्न सकिन्थ्यो। तर समग्रमा टोलीको खेल उत्कृष्ट थियो, यो जितले म निकै खुसी छु।”
अब सेमिफाइनलमा आर्सनलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी र डिफेन्डिङ च्याम्पियन न्युक्यासल युनाइटेड आमनेसामने हुनेछन्।