अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहुप्रतीक्षित फिफा विश्वकप २०२६ का लागि नेपालबाट दर्शक सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित टिकट बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
आगामी जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका मा आयोजना हुने विश्वकप प्रतियोगिता हेर्न एन्फाले संघमा आवद्ध प्रत्येक सदस्य संघ, संस्था तथा क्लबका लागि एक–एक थान टिकट उपलब्ध गराउने निर्णय गरेको हो।
एन्फाका अनुसार समूह चरणदेखि क्वार्टरफाइनल चरणसम्मका खेलका लागि टिकट बिक्री गरिनेछ। यसअन्तर्गत संघमा आवद्ध ४९ जिल्ला फुटबल संघ, सातवटै प्रदेश फुटबल संघ, शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला फुटबल संघ तथा राष्ट्रिय लिगका लागि छनोट भएका क्लबहरूले ११ पुसभित्र एन्फा सचिवालयमा आवश्यक सिफारिस पत्र बुझाउनुपर्नेछ।
टिकट छनोटका क्रममा इच्छुक संघ–संस्थाले म्याच नम्बर २ र ५ (समूह चरण) देखि १०० (क्वार्टरफाइनल) सम्मका खेलमध्ये पहिलो रोजाइ र वैकल्पिक रोजाइ गरी दुई विकल्प उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै दर्शकहरूले सिटिङ क्याटेगोरी १, २ वा ३ मध्ये आफ्नो प्राथमिकता अनुसार छनोट गर्न सक्नेछन्।
टिकटको मूल्य अमेरिकी डलर ५०० (करिब ७१ हजार ६०३ रुपैयाँ) देखि १२६५ डलर (करिब १ लाख ८१ हजार १५६ रुपैयाँ) सम्म तोकिएको एन्फाले जनाएको छ।
विश्वकप अवलोकनका क्रममा लाग्ने भिसा प्रक्रिया, हवाई यात्रा, खानपान, बसोबास, म्याच टिकट तथा अन्य सबै खर्च स्वयं दर्शकले नै व्यहोर्नुपर्नेछ। यद्यपि भिसा प्रक्रियाका लागि आवश्यक सिफारिस पत्र भने एन्फाले उपलब्ध गराउने स्पष्ट पारेको छ।
टिकट दरसम्बन्धी औपचारिक जानकारी एन्फा सचिवालयबाट प्राप्त भएपछि तोकिएको समयसीमाभित्र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खातामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
फुटबल प्रेमी नेपालीका लागि विश्वकपको प्रत्यक्ष रोमाञ्च अनुभूति गर्ने यो अवसरलाई एन्फाले ऐतिहासिक सहभागिताका रूपमा चित्रण गरेको छ।