भक्तपुर । उनको सयन कक्षमा फुटबल खेलसँग सम्बन्धित सामग्री, तस्वीर र उनले खेलेका विभिन्न प्रतियोगिताका माध्यमबाट प्राप्त गरेका दर्जनौं मेडल र प्रमाणपत्रले सजाइएको छ भने औपचारिक अध्ययनका पाठ्यपुस्तक र सामग्रीहरु देख्दा उनी विद्यार्थी जीवन व्यतित् गरिरहेका छन् भन्न कठिन हुँदैन । उनी हुन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा उदाउँदै गरेका आशालाग्दो गोल रक्षक अनुस्कृत न्यौपाने ।
.jpeg)
बाल्यकालदेखि नै फुटबलमा विशेष रुची राख्दै आएका भक्तपुर सूर्यविनायक वडा नम्बर १ का अनुस्कृत न्यौपाने अहिले १५ बर्षका भए । यो उमेरसम्म आइपुग्दा उनले आफ्नो उमेर समूहका थुप्रै राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका छन् ।
त्यसो त उनले नेपालका ‘ए’ डिभिजन राष्ट्रिय फुटबल क्लबबाट मात्र खेलेका होइनन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरिसकेका छन् ।
सन् २०२५ को (जुलाई २० देखि २७) सम्म डेनमार्गमा भएको ‘डाना कप २०२५’ मा नेपालका औरिम स्पोर्ट एकेडेमी तथा सँस्कृति इन्टरनेशनल स्कूलका तर्फबाट (यू–१४) उमेर समूह अन्तर्गत गोल रक्षकका रुपमा खेल्ने अवसर प्राप्त गरेका थिए ।
उक्त प्रतियोगितामा नर्वे, माल्टा र युक्रेनका विभिन्न व्यवसायिक क्लबका खेलाडीसँग उनको टिमले प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा उनी सहभागी टिम क्वार्टर फाइनलसम्म पुगेको थियो ।
फुटबल खेलमा मिडफिल्ड र डिफेन्डर लगायतका पोजिसनबाट खेल्न अक्सर खेलाडीहरुको रुची हुने गर्दछ । तर अनुस्कृतले भने त्यसबाहेक पनि अर्काे महत्वपूर्ण स्थान गोल रक्षक भएर खेल्ने निधो त्यतिखेर नै गरिसकेका थिए, जतिखेर उनी आफ्नै घरको भित्तामा सानो भकुण्डो हिर्काएर त्यसलाई समाउने कोसिस गर्दथे ।
बाल्यकालको स्मरण गर्दै उनका पिता सन्तोष न्यौपाने भन्छन्,‘सानोमा स्कूलबाट घर फर्किने वित्तिकै पुरानो घरको भित्तामा एक्लै भकुण्डो हिर्काएर त्यसलाई समाउने गर्दथ्यो । त्यतिखेर उसको यो क्रियाकलापलाई हामीले सामान्य रुपमा मात्र हेरेका थियौं । तर पछि थाहा हुँदै गयो, उसलाई फुटबल खेल प्रति रुची त्यतिखेर देखि नै रहेछ, त्यसमाथि पनि गोल किपर बन्ने रहर उ भित्र त्यतिबेला देखि नै जागेको रहेछ ।’
आफ्नो पढाइलाई निरन्तरता दिँदै जाँदा स्कूलभित्र हुने साना–तिना फुटबल प्रतियोगितामा समेत साथीहरुसँग फुटबल खेल्दा अनुस्कृत जहिलेपनि गोल रक्षकको भूमिकामा उभिन्थे । उनकै छिमेकी सहपाठीहरुसँग पनि फुटबल खेल्दा उनी गोल रक्षक नै भएर खेल्न मन पराउँथे ।
अनुस्कृतको फुटबल प्रतिको यस्तो रुची देखेर घर परिवारले उनलाई व्यवसायिक रुपमा खेलाडी बनाउन सकिन्छ कि भनेर व्यवसायिक प्रशिक्षणमा संलग्न गराए । सुरुमा उनी घर नजिकै रहेको व्यवसायिक फुटसल प्रशिक्षण केन्द्रबाट प्रशिक्षण लिन थाले । सँगै उनले औपचारिक र अनौपचारिक थुप्रै प्रतियोगितामा सहभागिता पनि जनाउँदै गए । यो क्रममा उनले अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट ‘ग्रासरुट प्रोग्राम’ अन्तर्गत २ बर्षसम्म नियमित रुपमा तालिम लिने अवसर प्राप्त गरे ।
पछिल्लो समयमा उनी नेपाल पुलिस क्लबबाट समेत उनको उमेर समूहमा आयोजना भएका राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुँदै आएका छन् । ६ फिट २ इन्च अग्ला कदका अनुस्कृतको कुशल खेलकै कारण सशस्त्र प्रहरी बल (एपिएफ) क्लब समेत उनीप्रति आकर्षित भएको छ ।
परिवारकै हौसला र प्रेरणाका कारण अनुस्कृत व्यवसायिक फुटबलमा होमिए । खेलकै माध्यमबाट आफू र आफ्नो मुलुकको समेत नाम राख्न सकिने भएकाले यसप्रति आफ्नो मोह जागेको उनी बताउँछन् ।
उनलाई नेपालका वरिष्ठ गोलकिपर किरण चेम्जोङ तथा अग्रपंक्तिका खेलाडी विमल घर्तीमगर औधी मन पर्छ । त्यसो त जर्मनीका म्यान्यूयेल न्यूयर र ब्राजिलका नेयमार उनलाई मनपर्ने अन्तर्राष्ट्रिय खेलाडीहरु हुन् । खेल जीवनमा उनीहरुलाई अनुस्कृत आदर्श मान्छन् ।
सूर्यविनायक ४ स्थित रेन्बो अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनुस्कृत अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जटिरहेका छन् ।
परीक्षाकै कारण केही समयका लागि उनको फुटबल जीवनमा आंशिक रुपमा विश्राम लागेको छ । विहान सबेरै उठेर उनी विद्यालयको अतिरिक्त कक्षामा सहभागी हुने गरेका छन् । यही बीचमा अनुस्कृतले जिल्ला स्तरमा आयोजना हुने भक्तपुर प्याब्सन जिल्लाव्यापी फुटसल प्रतियोगितामा विद्यालयको तर्फबाट खेल्ने योजना भने बनाएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा सकिएपछि भने उनी नेपालका व्यवसायिक फुटबल क्लबसँग आबद्ध भएर आफ्नो फुटबल करियरलाई अगाडि बढाउने योजनामा छन् ।



