सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए ।
यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारलाई ल्याउनका लागि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय गरेको हो । कोरोनाबाट रोजगारी गुमाएका नेपालीलाई स्वदेश आउन सहज होस् भनेर त्यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कामदारलाई काठमाडौं पु¥याउन चाहने कम्पनीलाई उडानको अनुमति दिने पनि निर्णय गरेको छ । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो ।
आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाई बढाउनुपर्ने धारणा राखेको र त्यसमा सैद्धान्तिक सहमति दिइएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि ल्याउन दिइनेछ ।
साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत भएको छ । मन्त्रिपरिषद् बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ । यस्तै विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको एक मन्त्रीले बताए ।