काठमाडौं । केही निजी डेरीले दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको छ । उपभोक्तालाई मार पर्ने गरी गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको हो ।
सरकारसँग समन्वय नै नगरीकन उपभोक्तालाई असर पार्ने गरी दूधमा गरेको मूल्य फिर्ता लिन आग्रह गरिने भएको छ । केही निजी डेरीहरूले शनिवारदेखि लागु हुने गरी लिटरमा १४ रुपैयाँ वृद्धि गरेको छ ।
अब उपभोक्ताले दूधको प्रति प्याकेट (आधा लिटर)लाई ५० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसअघि प्रति पोका ४८ रुपैयाँमा उपभोक्ताले दूध किन्न पाउँथे तर त्यसमा खुद्रा मूल्य दुई रुपियाँ वृद्धि गरी ५० रुपियाँ पुर्याएको छ ।
राष्ट्रिय दूध विकास बोर्डका प्रमुख डा।राजेन्द्र यादवले डेरी उद्योगीले गरेको मूल्य वृद्धि ऐन र नीति विपरीत रहेको बताए ।
उनले भने, ‘डेरी उद्योगीले गरेको यो मूल्य वृद्धि राष्ट्रिय दुग्ध विकास नीति २०७८ र राष्ट्रिय दुग्ध विकास ऐन विपरीत रहेको र यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो । गत माघमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट दूधको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
मूल्य तोकेको दुई वर्षपछि मात्र मूल्य परिमार्जन वा समायोजन गर्नुपर्ने नीति छ तर एक वर्ष नबित्दै डेरीवालाले मूल्य वृद्धि गरेर उपभोक्तालाई मर्कामा परेको उनले बताए ।
दूधको मूल्य वृद्धि गर्दा वा समायोजन गर्दा बोर्डसँग समन्वय गर्नुपर्ने तर त्यस्तो नगरी आफ्नै मनले मूल्य गरेको बताउँदै उनले भोलि यसको विषयमा मन्त्रालयमा छलफल गरी कुनै आवश्यक निर्णय लिने बताए ।
निजी डेरीबाट उत्पादित ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएमएफको आधारमा दूधको मूल्यमा वृद्धि गरेको हो । निजी डेरीका अनुसार किसानले सङ्कलन खर्चसमेत जोडेर प्रतिलिटर ७२ रुपैयाँ पाउनेछन् ।
सरकारले गत वर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रूपैयाँ ४ पैसा समर्थन मूल्य तोकेको थियो । नेपाली डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यकै आधारमा केही डेरी उद्योगीले मूल्यवृद्धि गरेको बताए ।
उनले विगतमा सरकारले दूधको मूल्य तोके पनि डेरी उद्योगीहरूले घाटामा दूध बिक्री गरेको कारण अहिले मूल्य वृद्धि गर्न बाध्य भएको बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सबै क्षेत्रसँग समन्वय गरेर दूधको मूल्य वृद्धि गर्नुपर्थ्यो तर त्यस्तो नगरेर यसलाई विवादमा ल्याएको बताए ।