अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । बेपत्ता रहेका १३ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वति रावलले जानकारी दिनुभयो । ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी निुभयो ।
यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको उहाँले बताउनुभयो । गएराति देखिको अविरल वर्षा सँगै आएको बाढीका कारण रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका २५ घर बगाएकोे अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार त्यहाँ जाने बाटाहरु पनि बाढीले बगाएका कारण उद्धार टोली सदरमुकामबाट हिँडे पनि पुग्न सकेको छैन । स्थानीयले नै उद्धार गरिरहेको प्रजिअ उपाध्यायले बताउनुभयो । प्रजिअ उपाध्यायले सदरमुकामबाट तीनवटै सुरक्षा निकाय सम्मेलित ६० जनाको टोली घटनास्थल तर्फ गैसकेको बताउनुभयो । अहिलेपनि पानी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको छ ।
त्यस्तै पहिरोमा परी बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका–५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । राति सुतेको बेलामा घर माथिबाट आएको पहिरोले घर पुर्दा अन्य २ जना घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।
लगातारको वर्षाका कारण बझाङमा पनि पहिरोमा परी ४ जना घाइते भएका छन् भने २ जना वेपत्ता भएका छन् । बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरोले थानीय प्रताप ताम्राकारको घर बगाउँदा २ जना बेपत्ता भएका छन् भने ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यता दैलेखको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले पुरिएर १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ । पहिरोमा पुरिएर ११ वर्षका लोकेश कठायत र भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ वर्षका बलबहादुर रावत बेपत्ता हुनु भएको छ । गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको र ४ जनाको उद्धार गरिएको ठाँटीकाँध गाउँपालिका–४ का वडाध्यक्ष रमेश सिजापतीले जानकारी दिनुभयो ।