काठमाडौं । बिहीबार (आज) प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले थप शपथग्रहण गरेका छन् । अर्थात् संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा भन्दा उनीहरुले एक वाक्य थप शपथ लिए ।
राप्रपाका सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी संघीय संसद सचिवालयमा बुझाएका छन् ।
४ मंसिरको चुनावबाट राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जसमध्ये पशुपतिशमशेर जबरा ज्येष्ठ सदस्यको हैसियतमा अरु सांसदहरुलाई शपथ गराएका थिए । त्यसैले उनले राप्रपाका अरु सांसदले जस्तो थप वाक्य शपथ लिएनन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ मा पनि यही भनेर थप शपथ लिएका थिए । ०७४ को संसदमा उनी एक्लै थिए । यसपटक राप्रपाका १४ जना सांसद छन् । लिङ्देनले यसपटक आफ्नो दलका अरु सांसदहरुलाई पनि आफूले जस्तै भ्रष्ट्राचारविरुद्ध शपथ गर्न लगाएका हुन् ।
राप्रपाबाट संसदमा लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही ज्ञानेन्द्र, दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली निर्वाचित भएका छन् ।