काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब दुई वटा क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी छ । मतगणना भइरहेका दुई क्षेत्र मध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेस उम्मेदवारको अग्रता रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत प्राप्त गरेका छन् ।
त्यस्तै, बाजुरामा भने कांग्रेस उम्मेदवार बद्रि पाण्डे २६ हजार ९८६ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार कर्ण थापाले २३ हजार २०८ मत पाउनु भएको छ । यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता बढी भएकाले उनको जित निश्चित भएको छ । हालसम्म कांग्रेसले ५६ सिट जितेको छ भने एमालेको ४४ सिट र माओवादीले १७ सिट जितेको छ ।
त्यस्तै, एकीकृत समाजवादी पार्टीले १०, जनता समाजवादी पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ र अन्य पनि ७ स्थानमा जित हासिल गरेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने नेकपा एमाले अग्रस्थानमा रहेको छ । हालसम्म एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार ४५७, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार ९४६, जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार ३६२, नागरिक उन्मुक्ति पार्टील्ले २ लाख ७१ हजार ६६२ मत पाएका छन् । नेकपा एसलाई थ्रेस होल्ड कटाउन सकस परिरहेको छ ।