काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ । समानुपातिकतर्फ खसेको मतको ८८ दशमलब १५ प्रतिशत मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९५ लाख ६० हजार एक सय ६४ मत गणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ४२ स्थानमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता लिएको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेके नेकपा माओवादी केन्द्रले १७ स्थानमा, नेकपा एकीकृत समाजवादी केन्द्रले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ स्थानमा जित हासिल गरेका छन् । यस्तै, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ र अन्यले ८ स्थानमा जित हासिल गरेका छन् ।
यस्तै, आयोगका अनुसार हालसम्म गणना गरिएको समानुपातिक तर्फको मतअनुसार नेकपा एमालेले २५ लाख ७९ हजार ८३८ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २४ लाख ४८ हजार ३५१, नेकपा माओवादी केन्द्रले १० लाख ९७ हजार ३६५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार ७७ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५१ हजार २२, जनता समाजवादी पार्टीले तीन लाख ५७ हजार २१० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ९९ हजार २४८ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ६४ हजार ३३१ मत प्राप्त गरेको छ । ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।