काठमाडौं । प्रतिनिधिसभामा हालसम्म १ सय ५८ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ । नेकपा एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७/७ सिटमा विजयी भएका छन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।
मतगणना जारी रहेका चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन् । एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा हिजो दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।
संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उता, उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राखेका छन् ।
खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेकी छन् । दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन ।
त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि बढेको छ । आज विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो ।
आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ । समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ ।
हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएको छ ।