काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १ सय ५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ।
हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जित हासिल गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकिकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् ।
साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।
हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन। दोलखा–१ मा चुनावसम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।
सुनसरी–१ मा भने मतगणना जारी छ । त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेकी छन भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९ सय ८२ मतसहित पछ्याइरहेका छन् ।
सुनसरी–३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९ सय ३७ मतका साथ पछ्याइरहेका छन् ।
सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४ सय ४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४ सय ३३ मतका साथ दोस्रो स्थानमा छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिवार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन। इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन्।
उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९ सय १७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १ सय ९ मतका साथ दोस्रो स्थानमा छन् ।
महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४ सय २० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार सय ५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६ सय ६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६ सय ४९ मतका साथ पछ्याइरहेका छन् ।