काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् ।
मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने बताइएको छ ।
उनले मतदाताहरूले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटरलगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने बताए । आयुक्त थपलियाले निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गए सामग्रीहरू जफत गर्ने चेतावनी समेत दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भिडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराए । उनले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गरेका छन् ।
उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे ।