काठमाडौं । आज देशभर एकैसाथ हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका निर्वाचन आयोगले चुनावमा अत्यावश्यक गाडीलाई समेत सवारी अनुमतिपत्र आवश्यक नपर्ने गरी सहज आवतजावतको व्यवस्था गरेको छ ।
आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकलका लागि अनुमति पत्र लिन नपर्ने गरी सहज आवागमनको व्यवस्था गरिएको छ । विमानस्थलसम्म आवतजावत गर्ने गाडीमा जाने व्यक्तिले हवाई टिकट र पासपोर्ट भने अनिवार्य देखाउनु पर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
त्यसैगरी खानेपानीको ट्याङ्कर, फोहरमैला ओसारपसार तथा दूध बोक्ने गाडी, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी आवागमनका लागि प्रयोग हुने गाडीका लागि पनि अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।
त्यस्तै, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने गाडी, आयोगबाट जारी परिचयपत्र बाहेक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडीका लागि पनि अनुमतिपत्र आवश्यक पर्ने छैन ।
निर्वाचन आयोगले पत्रकारका लागि पनि सवारी अनुमति पत्र आवश्यक नपर्ने जनाएको छ । आयोगका अनुसार सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहत सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी प्रेस पास वा प्रचलित कानुन बमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भइ सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने गाडीका लागि पनि अनुमति पत्र आवश्यक नपर्ने जनाएको छ । आज सार्वजनिक गाडी चलाउन भने पूर्ण निषेध गरिएको छ ।