जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्ने सेवा प्रवाह स्थानीय तहअनुसार फरक फरक दिने भएको छ । कार्यालयमा भिडभाड हुन नदिन प्रशासनले स्थानीय तहका सेवाग्राहीका लागि छुट्टाछुट्टै सेवा दिने निर्धारण गरेको हो ।
नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी, नाबालिग परिचय पत्र, राहदानी, हातहतियार दर्ता नवीकरणलगायतका लागि स्थानीय तहअनुसार फरक–फरक दिन छुट्याइएको छ ।
काठमाडौं महानगरभित्र रहेका नागरिकले आइतबार, मंगलबार र बिहीबार सेवाहरु प्राप्त गर्नेछन् । स्थानीय तहलाई ६ समूहमा विभाजन गरी दिन तोकिएअनुसार कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका सर्वसाधारणका लागि सोमबार तोकिएको छ ।
बुढानिलण्ठ, टोखा, कागेश्वरी, मनहरा नगरपालिकाका बासिन्दाका लागि बुधबार तोकिएको छ । भने गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका नागरिकलाई प्रशासनिक कार्यका लागि शुक्रबार छुट्याइएको छ ।
संघ संस्था दर्ता सोमबार र बुधबार, संस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार हुने जनाइएको छ । पत्रपत्रिका दर्ता तथा विधान संशोधनको कार्य शुक्रबारमात्रै हुने भएको छ । प्रतिलिपि पत्राचार हरेक दिन दिउँसो ४ बजेपछि हुने भएको छ ।