लगातारको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ जलमग्न भएका छन् भने खोलाहरूमा पानीको बहाव उच्च भएको छ । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ ।
बाग्मतीमा आएको बाढीका कारण थापाथली स्थित सुकुमबासी बस्ती डुबानमा परेको छ भने भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीका कारण किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण बाग्मती खोलाका आसपासमा रहेका करिडोर सडकसमेत डुबानमा परेका छन ।
बाग्मतीमा आएको बाढीले टेकु आसपासका बस्तीमा समेत असर पु¥याएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिनुभयो । उँहाका अनुसार बाग्मतीमा आएको बाढीका कारण टेकुका २९ घरपरिवार प्रभावित भएका छन् भने ७ घरपरिवारलाई विश्वनिकेतन स्कुलमा सारिएको छ ।
यसैगरी, विष्णुमती नदीमा आएको बाढीका कारण कालिमाटी क्षेत्रका १० घरपरिवारलाई कालिमाटीको सतल पाटीमा सारिएको एसएसपी यादवले जानकारी दिनुभयो । यस्तै, भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्रका धेरैजसो स्थान प्रभावित भएको छ ।
बाढीका कारण भक्तपुर नगरपालिकाका–१, ३ र ४ क्षेत्र बढी प्रभावित भएको हो । यसैगरी, कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदी बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुमबासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ । उनीहरूलाई रमण कसट्रक्सनमा लगेर राखिएको छ ।