काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ र हावा/हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ र हावा/हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।