काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिवानाको विषयमा विवाद भएको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक दावा लामाले ट्राफिक प्रहरीसँग जरिवाना तिर्ने विषयमा विवाद गरिरहेको देखिन्छ। भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सुनिन्छ।
‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरूले,’ भन्दै चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफीसमेत मागिसकेको बताएका छन्। ट्राफिक प्रहरी भने नियम उल्लंघन भएको भन्दै जरिवाना तिर्नुपर्ने पक्षमा देखिन्छन्। चालक र प्रहरीबीचको विवाद बढ्दै गएपछि चालकले आफू काम गर्ने व्यक्ति भएको र अन्यायपूर्ण रूपमा जरिवाना लगाउन खोजिएको गुनासो गरेका छन्।
विवादकै क्रममा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको भिडियोमा सुनिन्छ। बस सडकको बीचमा रोकिँदा यातायात प्रभावित भएको भन्दै त्यहाँ रहेका सुरक्षाकर्मीले बसलाई साइड लगाउन आग्रह गरेको पनि भिडियोमा देखिन्छ। भिडियोमा ट्राफिक प्रहरीसँगै सशस्त्र प्रहरीको पोशाकमा रहेका तथा सादा पोशाकका व्यक्तिहरू पनि देखिन्छन्। चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफी मागेको बताउँदै पनि जरिवाना तिर्नुपर्ने विषयमा असहमति जनाइरहेका छन्।
त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो दन्किएको देखिन्छ। आगलागीमा चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो।चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
आगलागीको वास्तविक कारण, बसभित्र आगो कसरी सुरु भयो र घटनाअघि चालक तथा ट्राफिक प्रहरीबीच भएको विवादको भूमिका के थियो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने देखिन्छ।