काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारको लाइनअप थप बलियो बनेको छ। फिल्ममा अभिनेता सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन्।
यसअघि फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जोडिइसकेका छन्। सुशीलको प्रवेशसँगै फिल्मको मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौधरीले बताएका छन्।
फिल्मको छायांकन मंगलबारदेखि विराटनगरबाट सुरु गर्ने तयारी गरिएको छ। निर्माण पक्षका अनुसार फिल्मको छायांकनका लागि ७० दिनको समय तालिका तय गरिएको छ। दसैंका लागि भने एक साताको ब्रेक राखिनेछ। फिल्मको सम्पूर्ण छायांकन कोशी प्रदेशका विभिन्न स्थानमा गरिने जनाइएको छ।
चर्चित उपन्यास ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरले फिल्मको कथा लेखेका छन्। प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ। निर्माण पक्षले फिल्मलाई आगामी वर्षको दसैंको छेकोमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
निर्देशक चौधरीका अनुसार ‘द राइज अफ साम्राज्य’ उनको अहिलेसम्मकै ठूलो स्केलको एक्सन ड्रामा हुनेछ। फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन दिने प्रयास गरिएको उनको भनाइ छ।
फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको बताइएको छ। ‘अगस्त्य’मार्फत एक्सन जनरामा चर्चा कमाएका चौधरीले ‘साम्राज्य’लाई आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा अघि बढाएका छन्।