काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (ईभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारीसाधन भित्र्याएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारीसाधन काठमाडौं उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । विद्युतीय सवारीसाधन प्रयोग गर्दा वार्षिक रुपमा १ करोड बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
सरकारी निकायले पनि क्रमशः विद्युतीय सवारीसाधन प्रयोग गरून् भन्ने ध्येयका साथ प्राधिकरणले विद्युतीय सवारीतर्फको यात्रा अगाडि बढाएको हो ।
प्राधिकरणले खरिद गरेको टाटा नेक्सन ईभी एक पटक चार्ज गर्दा ३१२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । काठमाडौं उपत्यकामा २१६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । सो सवारीमा ३०.२ किलोवाट क्षमताको ‘लिथियम आयन ब्याट्री’ प्रयोग भएको छ । भारतीय कम्पनी टाटाले उत्पादन गरेको सो विद्युतीय सवारी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ ।
विद्युत्को आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमूनाका रुपमा विद्युतीय सवारीसाधन चलाउन लागेको हो । आगामी मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ ।
नेपाल आयल निगमका अनुसार चालु आवको हालसम्म झन्डै २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धनमा विशेष चासोका साथ काम गरिरहेको छ ।
सडक विभागले पनि केही समयपहिले विद्युतीय सवारीसाधन आयात गरेर प्रयोगमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि विद्युतीय सवारीको प्रयोग भइरहेको छ ।
बजारमा आधा घण्टामा नै द्रुत रुपमा चार्ज गर्न सकिने विद्युतीय सवारीसाधनहरु उपलब्ध छन् । पछिल्ला दिनमा विद्युतीय मोटरसाइकल, स्कुटर उपलब्ध हुन थालेका छन् । अनौपचारिक अध्ययनअनुसार कूल १०० वटा
सवारीसाधन गुड्दा सहरी क्षेत्रमा ६ वटा विद्युतीय सवारीसाधनको उपस्थिति देखिएको छ ।
वातावरण जोगाउन र मोटो रकम तिरेर आयात गरिने पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनमा जोड दिन लागिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुपर्ने बताउँछिन् । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा विश्व बजारमा पर्दा इन्धनको मूल्य अकासिएको छ । त्यसबाट नेपाल पनि नराम्ररी प्रभावित भएको छ । इन्धनको मूल्य ओरालो लाग्ने सम्भावना कमै देखिन्छ । यस्तो अवस्थामा विद्युतीय सवारीसाधनको प्रयोग गर्नुको विकल्प नै सबैभन्दा उत्तम हुन जान्छ ।
भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएको छ ।
विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारीसाधन भित्रिएको छ । त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारीसाधनको सङ्ख्या मात्रै १०१ वटा छन् । त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका ६५६ वटा विद्युतीय सवारीसाधन स्वदेश भित्रिएका छन् ।