काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास ‘ब्यालेन्स नेल’ आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् ।
‘आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरिक हुनेछन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेको छ ।
विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ ।
अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेन्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।
प्रवक्ता सिलवालले भने, “यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेन्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।” संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन् ।
तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वार फेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।
परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।