काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिकामा आगलागी ब्यवस्थापन सम्बन्धी तालिम शुरु भएको छ ।यूएसएआईडी तयार नेपालको सहयोगमा शुरु भएको तालिममा हिमालयन इस्टिच्युट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस (हाइफेस) ले सहजिकरण गरिरहेको छ ।
उमेश साखकर्मी प्रमुख प्रशिक्षक रहेको तालिममा २ महिलासहित १७ जनाको सहभागिता रहेको छ । शुक्रबारदेखि शुरु भएको तालिम चैत्र १७ सम्म संचालन हुनेछ ।
उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना, प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेल, वडा नं. ३ वडाध्यक्ष होमनाथ रिजाल, यूयसएआईडी तयार नेपाल डिजास्टर प्रिपेर्डनेस एण्ड रेस्पोन्स स्पेसलिस्ट कृष्णा कार्की, यूयसएआईडी तयार नेपाल एक्सन फन्ड म्यानेजर अमित चक्रबर्ती, यूयसएआईडी तयार नेपाल फिल्ड अफिसर सुधा रिमाल र हाईफेसका अध्यक्ष सुशिल राउतलगायतले आफ्नो विचार राखेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मेयर भिमप्रसाद ढुंगानाले सहरी विकास तथा विपद् ब्यवस्थापनमा आफूहरु निकै सजग हुँदा विपद् व्यवस्थापनमा हालै नेपालभरका नगरपालिकामध्ये उत्कृष्ट भएको बताए । आफूहरुले तालिम तथा सेमिनार मात्र नभएर विपद्को न्यूनिकरणका पूर्वाधार तथा उपकरणहरुको पनि उचित ब्यवस्था गर्नुपर्ने उनले बताए ।
आगलागी ब्यवस्थापनलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न यो तालिमको आयोजना गरिएको उनले बताए । तालिममा वित्तीय सहयोग पुर्याउने युएसएआईडी तयार नेपाल र तालिम सहजीकरण गर्ने हाईफेसलाई उनले विषेश धन्यवाद दिएका छन् ।
त्यस्तै, यूयसएआईडी तयार नेपाल डिजास्टर प्रिपेर्डनेस एण्ड रेस्पोन्स स्पेसलिस्ट कृष्णा कार्कीले बढ्दो सहरीकरण र औद्योगीकरणले आगलागी तथा अन्य जोखिमका घटनाहरुको सम्भावना बढाएको बताएका छन् ।
असावधानी तथा अज्ञानताका कारण आगलागीका घटनाक्रम बढ्दो मात्रामा रहेको उनको भनाइ छ । यस प्रकारका तालिमले आग्नी निवारण तथा उद्दार सम्बन्धी दक्ष जनशक्ती उत्पादन गरी निवारण तथा उद्दार कार्यमा सहज र छिटो उद्दारमा मद्दत पुर्याउने उनले बताए ।
त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेलले आगलागीबाट नेपालमा ठूलो जनधनको क्षति हुँदै आएको बताएका छन् । आगलागीको उच्च जोखिम क्षेत्रमा रहेको हुँदा पूर्व तयारीमा कुनै कसर नराखी ३६५ दिन नै सतर्कता अपनाइ तयारी अवस्थामा रहन उनले आग्रह गरेका छन् ।