काठमाडौं । इन्द्रजात्राको अवसर पारेर असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेम र जातीय विभेदको कथालाई प्रस्तुत गरिएको छ । प्रेम, वियोग, रोदन, हाँसो र पीडाको मिश्रण रहेको ट्रेलरले नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदको विषयलाई उठाएको छ ।
जात नमिलेकै कारण प्रेममा रहेका जोडी कसरी अलगिन बाध्य हुन्छन् र कथित तल्लो जातका मानिसले समाजमा कस्तो व्यवहार भोग्नुपर्छ भन्ने विषयलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा प्रस्तुत गरिएको कथावस्तुले फिल्ममा प्रेमसँगै सामाजिक विभेद र त्यसबाट उत्पन्न हुने पीडालाई केन्द्रमा राखिएको संकेत गर्छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको लेखन निर्देशक काजी लिम्बूले गरेका हुन् । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
त्यस्तै, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ । फिल्मका ‘तिमीसँग नबोली’ र ‘जदौ हजुर’ गीत यसअघि नै सार्वजनिक भइसकेका छन् । ‘जदौ’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।