काठमाडौं । आज शुक्रबार प्रतिनिधिसभाअन्तर्गत विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणलगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठकसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । उक्त बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा गत भदौ १० गते भोटेकोशीलगायतका नदीमा आएको बाढी र जलवायु परिवर्तनको असरलगायतका विषयमा विज्ञसँग छलफल गरिनेछ ।
चार वटा संसदीय समितिका बैठकमा बाढीपछिको आर्थिक प्रभाव, जलवायु परिवर्तन, विमानस्थलको स्थलगत अध्ययन तथा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकका विषयमा छलफल हुने भएको हो ।