काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गत आयोजना हुने उच्चस्तरीय सप्ताहमा सहभागी हुन अमेरिका जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन नेतृत्वको टोली सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछ । महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भने सेप्टेम्बर २० मै न्यूयोर्क प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री बालेनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनसँग अमेरिका जाने भ्रमण टोलीमा को-को ?
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
भ्रमण टोलीमा रहने सदस्यहरू :
१. प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) - भ्रमण टोलीका नेतृत्वकर्ता
२. शिशिर खनाल - परराष्ट्रमन्त्री
३. कुमार ब्यान्जनकार - प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
४. अमृतबहादुर राई - परराष्ट्र सचिव
५. नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू
सेप्टेम्बर २६ मा स्वदेश फर्कने
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा उच्चस्तरीय भेटवार्ताका लागि अमेरिका जाने प्रधानमन्त्री बालेन सेप्टेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभामा नेपालको सहभागिता, प्रधानमन्त्रीको सम्बोधन तथा संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेटवार्तालाई भ्रमणका प्रमुख कार्यक्रमका रूपमा लिइएको छ ।