काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिस गरेको हो ।
सरकारले विभिन्न क्षेत्रबाट विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ । संसदीय सुनुवाइ सम्पन्न भएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमो अर्थात् राजदूत नियुक्तिका लागि सम्बन्धित देशको स्वीकृति माग गर्नेछ । अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहनेछ ।
सरकारले सिफारिस गरेका १३ प्रस्तावित राजदूतमध्ये भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा रहेका छन् ।
त्यस्तै, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई संयुक्त अधिराज्य बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णको नाम प्रस्ताव गरिएको छ ।
युरोपतर्फ स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी तथा मध्यपूर्वतर्फ ओमानका लागि डा. पद्माक्षी राणा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका लागि सिफारिस गरिएको छ ।
त्यस्तै, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचला झाको नाम प्रस्ताव गरिएको छ ।
यी हुन् १३ देशका लागि प्रस्तावित राजदूत
१. भारत - डा. निश्चलनाथ पाण्डे
२. चीन - डा. कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिका - चिरनजंग थापा
४. संयुक्त अधिराज्य (बेलायत) - पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
५. जापान - जिग्यान कुमार थापा
६. इजरायल - सुरेशकुमार कर्ण
७. स्पेन - प्राप्ति शेरचन
८. जर्मनी - शरू जोशी
९. ओमान - डा. पद्माक्षी राणा
१०. मलेसिया - चूडामणि खरेल
११. दक्षिण कोरिया - प्रा. डा. सङ्गम श्रेष्ठ
१२. श्रीलंका - डा. मंचला झा
१३. साउदी अरेबिया - गिरीबहादुर सुनार
सरकारको सिफारिससँगै अब प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ । त्यसपछि मात्र सम्बन्धित देशमा राजदूत नियुक्ति हुने व्यवस्था छ ।