काठमाडौं । १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज विशेष समारोहकाबीच हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने जनाएको छ । अवार्ड कार्यक्रम दिउँसो २स्४५ बजे सुरु हुनेछ ।
मञ्चले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको जनाएको छ । यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ। पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न १० विधामा प्रदान गरिनेछ ।
कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड दिईने मञ्चले जनाएको छ । अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् ।
यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा आजनै गरिनेछ ।
यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।