सुर्खेत । सुर्खेतमा कालीकोटका एक व्यापारीको मृत्यु भएपछि उनका आफन्तले आन्दोलित भएका छन् । प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको भन्दै घटनामा सम्लग्न प्रहरीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तहरू आन्दोलित भएका हुन् ।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का ३५ वर्षका कृष्ण हमालको प्रहरीको कुटाइबाट घाइते भएको आफन्तको भनाइ छ ।
आफन्तका अनुसार घाइते हमाललाई शनिबार बिहान साढे १० बजे सुर्खेत हस्पिटल प्रालिमा ल्याइएको थियो । तर, अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो ।
हमाल बाँकेको नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे१ क ९२२ नम्बरको गाडीमा सवार थिए । फागुन २० गते शुक्रबार राति ११ बजेतिर सुर्खेत आउने क्रममा सुब्बाकुना प्रहरीले कुटपिट गरेपछि गम्भीर घाइते भएका आफन्तले बताएका छन् । हमाल कालीकोटमा कपडा पसल गर्दै आएका थिए ।
मृतकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथि नै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो’ उनले भने ।
प्रहरीको गैरजिम्मेवार र प्रशासनसहित प्रहरीले घटनाप्रति चासो नदेखाएको भन्दै मृतकका आफन्तले सुर्खेतको वीरेन्द्रनगरमा सडकमा टायर बालेर आन्दोलन गरेका छन् । उनीहरुले वीरेन्द्रचोकमा रहेको प्रहरी विटसमेत तोडफोड गरेका छन् ।
मृतकका आफन्त आन्दोलित बनेपछि यता जिल्ला प्रशासन कार्यालयले सुर्खेतले घटनाको छानबिनका छानबिन समिति गठन गरेको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।