काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । १० औं महाधिवेशनको बन्द सत्रलाई शनिबार चितवनमा सम्बोधन गर्ने क्रममा ओलीले आफूहरुसँग सिद्धान्त भएकोले जनताले समर्थन दिएकोले विश्वास घटाउने काम नगर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
'हामीसँग सिद्धान्त नभए कोसँग छ सिद्धान्त ? हरेक क्षेत्रमा हामीले यत्रा उपलब्धि हासिल गरेका छौं अनि जनताले बुझ्दै नबुझी यत्रो बनाएका हुन् ? जनताले यो साथ, समर्थन, सहयोग यत्तिकै भरोसा गरेका छन् त ?,' ओलीले निर्देशन दिने क्रममा भने, 'पार्टीप्रति जनविश्वास कमजोर पर्ने, जनता अलमलमा पर्ने, जनतामा भ्रम पर्ने खालका र पार्टीप्रतिको जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि नेताले नगर्नू ।' पार्टीमा विचार र सिद्धान्त छैन भन्ने बहस नगर्न भन्दै उनले आफूसँग सम्पूर्ण मानव जातिका समस्या कसरी समाधान हुनसक्छ र धर्ती कसरी सुन्दर हुनसक्छ भन्ने विचार भएको बताए ।
कुनै पनि नेता र कार्यकर्ताले पार्टीलाई धक्का पुग्ने खालका क्रियाकलाप गर्न नहुने पनि ओलीको भनाइ थियो । ओलीले थपे, 'पार्टीको प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडहरूले नगरौं । हाम्रो पार्टी विचारमा स्पष्ट छ । एउटा विचार भन्नाले समग्र राष्ट्र निर्माणको विचार छ । राष्ट्र निर्माणको मात्रै होइन सम्पूर्ण मानव जातिको कसरी समस्या समाधान हुन सक्छ र धर्ती कसरी सुन्दर हुनसक्छ भन्ने विचारहरू हामीसँग छन् ।
'एमालेसँग स्पष्ट विचार र नीति तथा तिनको कार्यान्वयनका लागि योजना पनि स्पष्ट रहेको ओलीको भनाइ थियो । 'हामीसँग विचार भएन, नीति भएन यो भएन, त्यो भएन भन्ने कुराहरू नगर्नू,' उनको निर्देशन थियो ।