काठमाडौं । प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन छुट्टाछुट्टै अमेरिका जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २१ मा न्यूयोर्क पुग्नेछन्। महासभाअन्तर्गत उच्चस्तरीय सम्मेलन तथा बैठकहरू सेप्टेम्बर २२ बाट सुरु हुने भएकाले उनी प्रधानमन्त्रीभन्दा दुई दिनअघि नै अमेरिका जाने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा न्यूयोर्क पुग्नेछन्। उनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनलगत्तै प्रधानमन्त्री शाह २५ सेप्टेम्बरमा काठमाडौं फर्किनेछन्। परराष्ट्रमन्त्री खनाल भने महासभापछि हुने विभिन्न बैठकमा समेत सहभागी हुनेछन्। उनी सेप्टेम्बर २८ मा न्यूयोर्कबाट नेपालका लागि प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ।
नेपालले सुरुमा महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा मात्र सहभागिता जनाउने तयारी गरेको थियो। सोहीअनुसार मन्त्रिपरिषद्ले निर्णयसमेत गरेको थियो। तर, भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री शाहको अमेरिका भ्रमणको तयारी अघि बढाइएको बताइएको छ।
प्रधानमन्त्री शाहकै चाहनाअनुसार छोटो अवधिको भ्रमण कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्। महासभामा सहभागी हुन नेपालबाट प्रधानमन्त्रीसहित १५ सदस्यीय टोली अमेरिका जानेछ। टोलीमा परराष्ट्र सचिव, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसहित परराष्ट्र मन्त्रालयका अधिकारी तथा प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी सहभागी हुनेछन्।
यसैबीच, प्रधानमन्त्री शाहको भ्रमणका क्रममा न्यूयोर्कमा अन्य देशका प्रतिनिधि वा नेताहरूसँग साइडलाइन भेटवार्ता हुने वा नहुनेबारे भने अहिलेसम्म टुंगो लागिसकेको छैन। मन्त्रालयका अनुसार हालसम्म कुनै औपचारिक साइडलाइन भेटवार्ता तय भएको छैन।