काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले विश्व अहिले गम्भीर चुनौतीको अवस्थामा रहेको बताएका छन् ।
उनले विभिन्न क्षेत्रमा जारी द्वन्द्वले ठूलो मानवीय पीडा निम्त्याइरहेको, विकासका उपलब्धि कमजोर बन्दै गएको र जलवायु परिवर्तनका असर तीव्र रूपमा बढिरहेको उल्लेख गरे । यी चुनौतीका कारण बहुपक्षीयताप्रतिको विश्वासमा दबाब सिर्जना भएको भन्दै रहमानले संवाद, सहकार्य र प्रभावकारी काममार्फत अन्तर्राष्ट्रिय संस्थाप्रतिको विश्वास पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए । ८१औँ महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन स् सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ ।
यस अधिवेशनमा विश्व शान्ति तथा सुरक्षा सुदृढीकरण, दिगो विकासलाई गति दिने, जलवायु परिवर्तनविरुद्धको प्रयास प्रभावकारी बनाउने, मानवअधिकारको प्रवर्द्धन, प्रविधिगत रूपान्तरणलाई जनमुखी बनाउने र बहुपक्षीयताप्रतिको विश्वास पुनर्स्थापना गर्ने विषयलाई प्राथमिकता दिइनेछ ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान अशान्तिपूर्ण विश्व परिस्थितिमा विश्वव्यापी समस्या समाधानका लागि बहुपक्षीय प्रणालीको भूमिका अझ महत्वपूर्ण भएको बताएका छन् । गुटेरेसले द्वन्द्व, विभाजन, आणविक तनावको जोखिम, गरिबी तथा असमानता, बढ्दो जलवायु संकट र कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिमलाई विश्वका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् ।
उनका अनुसार विश्वमा विस्थापित मानिसहरूको संख्या उच्च अवस्थामा पुगेको छ भने मानवीय आवश्यकता बढ्दै गएको र सहायता तथा विकासका लागि उपलब्ध स्रोत घट्दै गएको छ । अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारको उल्लंघन र भूराजनीतिक अविश्वासका कारण प्रभावकारी अन्तर्राष्ट्रिय समाधानमा समेत अवरोध सिर्जना भइरहेको गुटेरेसको भनाइ छ ।
महासचिव गुटेरेसले महासभाका अध्यक्ष रहमानको नेतृत्वमा कूटनीति, संवाद र सहकार्यका माध्यमबाट विश्व राजनीतिमा कमजोर हुँदै गएको विश्वास पुनर्निर्माण हुने अपेक्षा व्यक्त गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घको सुधार तथा भावी कार्ययोजनाका लागि ‘भविष्यका लागि सम्झौता’ र ‘संयुक्त राष्ट्रसंघ-८० पहल’लाई आधारका रूपमा प्रस्तुत गर्दै ८१औँ महासभाले त्यसको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र भूराजनीतिक तनावका बीच सुरु भएको यस महासभालाई अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय कूटनीतिलाई नयाँ गति दिने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।