काठमाडौं । यो शुक्रबार नेपाली फिल्म हलमा दर्शकका लागि नयाँ फिल्मको बाक्लो लाइनअप देखिने भएको छ । भदौ २६ गते शुक्रबार नेपालमा एकै दिन तीन नेपाली र तीन विदेशी गरी ६ वटा फिल्म प्रदर्शनमा आउँदैछन् ।
नेपालीतर्फ ‘पेन्सन पट्टा’, ‘बेहुली’ र ‘अक्षरा’ प्रदर्शनमा आउन लागेका हुन् भने विदेशी फिल्मतर्फ ‘हनुमान अंश’, ‘फल २ : डेडपोइन्ट’ र ‘हैवान’ दर्शकमाझ आउँदैछन् । माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ ड्रामा जनराको फिल्म हो । दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ र विल्सन विक्रम राईलगायत कलाकारको अभिनय रहेको फिल्मले ऋणको बोझ, बाबुको मृत्यु, पेन्सन पट्टा र आमा-छोराबीचको संघर्षको कथा प्रस्तुत गर्छ ।
त्यस्तै, सशान कँडेल निर्देशित ‘बेहुली’ पारिवारिक तथा भावनात्मक ड्रामा हो । फिल्मले प्रेम, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई प्रस्तुत गर्नेछ । फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’, दिव्या रायमाझी, पदम तामाङ र सुशान्त कार्कीलगायत कलाकारको अभिनय छ ।
विनय राज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’ सामाजिक तथा पारिवारिक विषयमा आधारित फिल्म हो । महिलाको पहिचान, सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक चुनौतीलाई फिल्मले कथाको केन्द्रमा राखेको छ ।
अब विदेशी फिल्मतर्फ
हिन्दी फिल्म ‘हनुमान अंश’ पनि शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदैछ । नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित यो फिल्म आध्यात्मिक यात्राको कथामा बनेको बायोपिक हो । फिल्मको निर्देशन विशाल चतुर्वेदीले गरेका छन् । त्यस्तै, हलिउडको एडभेन्चर-थ्रिलर फिल्म ‘फल २ स् डेडपोइन्ट’ पनि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
बहिनीको मृत्युबाट शोकमा रहेकी ज्याक्स आफ्नी बहिनीकी साथी लुससँगै थाइल्यान्डको खतरनाक क्वान पर्वत चढ्न पुग्छिन् । चार हजार फिटको उचाइमा चट्टान खसेपछि साँघुरो काठको फल्याकमा फसेका उनीहरूको जीवन संघर्ष र बाँच्ने प्रयासलाई फिल्मले प्रस्तुत गर्छ ।
माइकल स्पिरिग र पिटर स्पिरिग निर्देशित फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ । त्यसैगरी, एक्सन-क्राइम ड्रामा ‘हैवान’ पनि शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन हुँदैछ । प्रियदर्शन निर्देशित यो फिल्ममा दृष्टिविहीन मार्सल आर्ट्स खेलाडीले एक बालिकालाई मनोरोगी हत्याराबाट जोगाउन गर्ने संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । फिल्ममा सैफ अली खान र अक्षय कुमार मुख्य भूमिकामा छन् ।
यसरी यो शुक्रबार नेपाली हलमा फरक-फरक कथा, शैली र जनराका ६ फिल्म एकसाथ दर्शकमाझ आउँदैछन् । तर, रसुवाको भोटेकोशी बाढी र त्यसपछिको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै केही नेपाली फिल्मले भने आफ्नो प्रदर्शन मिति पछाडि सारेका छन् ।
अब शुक्रबार रिलिज हुने यी ६ फिल्ममध्ये नेपाली दर्शकको रोजाइमा कुन फिल्म पर्छ भन्ने कुरा भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ ।