काठमाडौं । तीन दिने भ्रमणका लागि बुधबार साँझ नेपाल आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ बालुवाटारमा लुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव डा. भरतराज पौड्यालका अनुसार द्विपक्षीय सम्बन्ध, कोभिडले पारेको असर, पोस्ट कोभिड इकोनोमी रिकभर र कोभिडविरुद्धको भ्याक्सिन सहयोगबारे पनि कुरा भएको बताएका छन् । भेटमा कोप-२६ को सम्मेलनमा आफूले राखेका कुराबारे पनि प्रधानमन्त्री देउवाले चर्चा गरेका थिए। नेपालको ग्रीन क्लिन विकास गर्ने उद्धेश्यले गरेको सम्बोधनमा उठाएका कुरा कार्यान्वयनका लागि अमेरिकाबाट आर्थिक र प्राविधिक सहयोग गर्न पनि देउवाले आग्रह गरेका छन् । लु ले उक्त भेटका क्रममा नेपाललाई कार्वन उत्सर्जन कम गर्ने कामका लागि सहयोग गर्ने वचन दिएको पौड्यालले बताएका छन् ।
'अमेरिकी सहायक विदेश मन्त्री लुसँग बिहीबार साँझ भेटवार्ता भएको छ', प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, 'हामीबीच लामो समयदेखिको नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान भएको छ।' त्यसैगरी लुले भोलि (शुक्रबार) परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको अवलोकन गर्ने उद्देश्यले लु नेपाल भ्रमणमा आएका हुन्।
अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरेर सहायक विदेशमन्त्री लुले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहीबारै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुगेकी छन्।
उनले पनि सरकारी अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो।