नेपालगञ्ज । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।
उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार–चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’
उनले प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गरे । उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।
ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताए । ‘२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरूलाई आफैले भारतबाट बिजुली किनेर भए पनि लोडसेडिङको अन्त्य गर्दै अहिले आफ्नै उत्पादन खपत गरौ भन्नेसम्म पु¥याइयो’, उनले भने, ‘फेरि अहिले बिजुलीबाट चल्ने बसको कुरा पनि मैले नै सुरु गरेको सुरु गरेको हो र २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाइदिएका छौ ।’
एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको व्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको आरोप लगाउँदै उनले भने, ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताए ।
कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत एमाले प्रवेश गरेका थिए ।