काठमाडौं । किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
कातिक २७ देखि २९ गते भएको सम्मेलनबारे आज बुधबार यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरिएको हो । सम्मेलनले किरात सिरिजङ्गा लिपि समृद्ध गर्दै राई समुदायको साथ किराती समुदायकमे साझा लिपिको रुपमा प्रचलनमा ल्याइने र भारतको सिक्किममा प्रयोग हुँदै आएको किरात खम्बु राई लिपिलाई समेत मान्यता दिने निर्णय गरेको छ ।
विश्वभर एकै प्रकारको माङखिम (पितृघर) निर्माण गर्ने र मुन्दुमी विधिबाट सामुहिक सुप्तुलुङ (चुल्हो) स्थापाना गर्ने प्रस्ताव पारित गरिएको छ । चुलो संस्कार संकटमा पर्दै गएकाले सामूहिक रुपमा चुलो स्थापना गर्ने र सोहीअनुसार संस्कार गर्ने तथा पितृ र प्रकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै किरात धर्म मान्ने पनि निर्णय भएको छ ।
किरात राई जातिको आदिम सभ्यता उद्गम स्थल आस्थाको केन्द्रको रुपमा रहेको तुवाचुङ जायजुम, मिथक जोडिएको खुवालुलाई सांस्कृतिक पर्यटन र मुन्दुम टे«ल, ट्याम्कैमैयू, साल्पा सिलिचुड, हलेसी, लिब्जु भुब्जुसँग जोडेर पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्ने निर्णय भएको छ ।
किरात राई जातिको सोकला उभौली÷उद्यौली चाडमा देशब्यापी रुपमा कम्तिमा पाँच दिन र आदिबासीहरुले मान्ने सबै राष्ट्रिय चाडहरुमा सार्वजनिक विदा गर्न माग गरेको छ ।
कातिक २७ गते राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन र १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको सम्मेलनमा बेलायत, अमेरिका, दक्षिण कोरिया, हङ्कङ, भारत, दुबई, मलेशियालगायत १४ देशका प्रतिनिधि सहभागी रहेको महासचिव जनक राईले जानकारी दिए । दुई दिने बन्दसत्रमा ९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।