काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलाे र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान)को १९ र २०औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुलाे र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए ।
उनले विद्युतीय चुलाे र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरूको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे । उनले भने, ‘हामीले किन यो ग्यासको चुलाे बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुलाे पनि इलेक्ट्रिक हुन सक्दछ । जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ इन्सेन्टिभ दिन तयार छौँ । काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरू सञ्चालन गरौँ ।
घरमा खाना पकाउने इलेक्ट्रिक चुलाे जाेडाैँ । भोलि तराई, मधेस सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ ।' 'उद्योगपतिहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरू सुरु गर्नुस् । सरकारले इन्सेन्टिभ दिन्छ । अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन् । त्यो पनि भएन नि । काम पनि गर्नुपर्यो । तपाईँहरूलाई हामी सारा सहुलियत दिन तयार छौँ ।
तपाईँहरू ब्याट्रीमा जानुस् । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन उनले आग्रह गरिन् ।
मन्त्री भुसालले नेपालमा उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेका कारण उत्पादित विद्युत खेर गइरहेको बताइन् । विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।