काठमाडौं । नेपालमा आफूखुशी गर्ने बालविवाहको दर बढेको सरोकारवाला निकायहरुले बताएका छन् ।
विहीबार भएको बालविवाह अन्त्यको लागि बालिका शिक्षा सुदृढिकरणका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंस्थाहरुले भागेर गर्ने बालविवाह बढेको बताएका हुन् ।
गल्र्स नट ब्राइड संस्थाकी राष्ट्रिय संयोजक बैजयन्ती कार्कीले नेपालमा पछिल्लो समय आमाबुवाले गर्दिने बालविवाह भन्दा आफूखुशी गर्ने विवाह बढेको बताइन् । उनले भनिन्, ‘हामीले गरेको पछिल्लो अध्ययन अनुसार अहिले आमाबुवाले गर्ने विवाह भन्दा आफूखुशी गर्ने विवाह अर्थात भागेर गर्ने बालविवाह बढेको छ ।
नेपालमा भागेर हुने बालविवाहको कारणबारे विस्तृतमा अध्ययन हुन नसकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल अधिकार संरक्षण शाखाका शान्तिराज प्रसाईले बताए । गुणस्तरीय शिक्षामा पहुँच नहुनु, घर, समाजमा हुने लैंगिक विभेद, विद्यालय भित्रै हुने लैंगिक विभेद जस्ता कुराहरु कारक तत्व भएको उनले बताए । तर राष्ट्रिय बाल अधिकार परिषदले भने बालविवाह घटेको जनाएको छ ।
परिषदले ६०४ स्थानीय तहमा अध्ययन गर्दा केही प्रतिशत बालविवाह घटेको पाइएको नीति, योजना तथा अनुगमन शाखाकी संगीता कुवँरले बताइन् ।
बालविवाह कम गर्नको लागि शिक्षामा निरन्तरता हुनुपर्ने तर त्यसका लागि बुझाउन नसकिएको कुँवरले बताइन्। पढिसकेपछि के हुन्छ, उमेर पुगेपछि विवाह गर्दा के हुन्छ भन्ने जस्ता सकारात्मक पाटो देखाउन÷बुझाउन नसक्दा प्रभावकारी नभएको उनको भनाइ छ ।
बालविवाह अन्त्यको लागि सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर अझै प्रभावकारी हुन नसकेको भन्दै प्रभावकारी नहुनुको कारण पहिचान गरी त्यसतर्फ काम गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।
यस्तै राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधानले बालविवाह कम गर्न शिक्षाको उपलब्धि र लक्ष्य निर्क्योल गर्नुपर्ने बताइन् ।