काठमाडौं । नेकपा एमालेले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमुना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेशिनबाट मतदान गर्न सिकाउनका लागि बुधबारदेखि नमुना मतदानको व्यवस्था गरिएको हो ।
राम–लक्ष्मण भोटिङ मेशिनबाट एमालेले आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ । उनका अनुसार बुधबारदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेशिनमा मतदान गर्न सिकाइने छ ।
अहिले पार्टी कार्यालयमा दुई वटा मेशिनबाट नमुना मतदान गरिरहेको र महाधिवेशनस्थलमा भने तीन वटा मेशिनबाट नमुना मतदान गराइने उनले जानकारी दिए । एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेशिन प्रयोग गरेर मतदान गर्ने भने पनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन ।
यस पटक एमालेले महाधिवेशनमा चुनावका लागि विद्युतीय मेशिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेशनसँग सम्झौतासमेत गरिसकेको छ । निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेशिनमा नमुना मतदान गराइने बताए ।
विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले एक सय वटा विद्युतीय मेशिन राख्ने तयारी गरेको छ । एक मेशिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ ।
एमालेको महाधिवेशनमा दुई सय २५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ जना गरी कुल दुई सय ५५ पदका लागि चुनाव हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए ।
चुनावमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेशिनमा रहने छन् । उनले चुनाव सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
एमालेको महाधिवेशनमा एक हजार नौ सय ९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले ती मेशिन प्रयोग गर्न लागिएको जानकारी दिँदै देशको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरू दललाई प्रेरणा मिल्न सक्ने जनाए ।
नवौँ महाधिवेशनमा मेशिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लागेकाले त्यसको तुलनामा मेशिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने बताए ।
चुनाव यसरी हुनेछ गरिनेछ
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन अधिकृतले रुजु गरेपछि मात्र विद्युतीय मेशिनमा मतदान गर्न पाउने छन् । निर्वाचन अधिकृतले नाम रुजु गरिसकेपछि मतदानका लागि प्रतिनिधिलाई कुपन दिइनेछ ।
त्यही कुपनका लागि मेशिनमा प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिले ४८ स्थानका लागि तयार मतपत्रमा ४८ पटक स्क्रिनमा देखिने उम्मेदवारलाई मतदान गर्ने छन् । एउटा स्क्रिनमा मतदान गरेपछि स्वतः अर्को स्क्रिन देखिने छ ।
यसरी एक वटा स्क्रिनमा देखिएका उम्मेदवारलाई मतदान गरिसकेपछि क्रमशः उम्मेदवारलाई मतदान गर्ने सकिनेछ । मतदाताले एक पटक मतदान गरिसकेका उम्मेदवारको सच्चाउन परे फेरि सच्चाएर मतदान गर्न सक्ने निर्देशक रिमालले बताए ।
लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिने छ । एक वटा मतदान केन्द्रमा आठ वटा मेशिनबाट मतदान गरिने उनले जानकारी दिए ।
ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहने छन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको उनले बताए ।
मतदान भएको चार घण्टामा सबै परिमाण घोषणा गरिने उनले बताए । मतदान गरिसकेपछि सबै मेशिनबाट कसले कति मत पाए भन्ने नामावलीसमेत प्रिन्ट गरिन्छ ।
सय वटा मेशिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिणाम घोषणा गरिने उनको भनाइ छ । विद्युतीय मेसिनबाट यसअघि नै एमालेको संसदीय दलको चुनाव भइसकेको छ ।
तत्कालीन राप्रपा नेपालले पनि यो मेशिन प्रयोग गरेर चुनाव गराइसकेको छ । अहिलेसम्म सबैभन्दा ठूलो चुनाव १० हजार मतदाता रहेको राष्ट्रिय सहकारी बैंकले पनि विद्युतीय मेशिनबाट चुनाव गराइसकेको छ ।