काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका छन् । यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए ।
मंगलबारका लागि तोकिएको पेसीमा उनले अन्य मुद्दासमेत पेसीमा चढाएका छन् भने आफूलाई समेत एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, वैदेशिक रोजगार कसुर, सवारी ज्यान लगायतका मुद्दा राखेका छन् ।
मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका छन् । अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका छन् ।
मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठ, तेज बहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास तोकिएको छ ।
यस्तै, मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दा पनि राखेर प्रधानन्यायाधीशले पेसी तोकेपछि असन्तुष्ट न्यायाधीशहरु इजलासमा नबस्ने भएका छन् ।