लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
’गौतम बुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो,’ उनले भनिन् ।
आज लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गरिन् । ’गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ,’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुन नहुने उल्लेख गरिन् । लुम्बिनी जस्तो पवित्र स्थल सबैको प्राथमिकतामा रहनुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारी आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी पुगेकी हुन् । उनलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा. सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गरेका थिए ।