काठमाडौं । कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
गृहमन्त्रीसमेत रहेका खाँण मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।
एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारी समेत दिए । उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन विताईरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए ।
सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो। उनले भने, ‘मुद्दा लागेकाहरुलाई कानुनी प्रक्रियाबाटै मुद्दा टुंगियोस्, फिर्ता लिन सकियोस् र बन्दीहरू पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ ।
त्यसका लागि अहिले गृहकार्य भएको छ । महान्यायाधिवक्ता कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरू कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरूको कानुनी अवस्था कस्तो छ ? त्यसबारेमा अब विशेषरुपमा रुपमा छलफल गरौं भनेका छौँ ।’
बन्दीभन्दा पनि मुद्दा धेरै रहेको भन्दै उनले सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको स्पस्ट पारे ।