काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेका छन् । देउवा नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेका हुन् ।
स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो । शुक्रबार बिहान १० : ४० बजे कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेका छन् ।
पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।
यसैगरी, अक्टोबर ३१ मा देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लण्डनमा आयोजना गर्नुभएको रिसेप्सनमा भाग लिनुहुने कार्यतालिका रहेको छ ।
सो अवसरमा देउवाले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस–गोर्खा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाएको छ । यसैगरी, नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनमा सहभागी हुने छन् । उक्त सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मुद्दासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।
अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । सम्मेलनमा भाग लिएपछि उनी १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको छ ।