काठमाडौं । गृह मन्त्रालयले तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ । वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकले राहत तथा उद्धारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।