काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधाानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूले दस्तावेजको बम नै हानेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलामा शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा कायम रहेको अवस्थामा ओलीसँग आफूले ठूलो सहासले विद्रोह गरेको बताए ।
’मैले केपी ओलीको विचार के हो? शैली के हो? रणनीति के हो? उसको भ्रष्टाचार कति छ? भनेर आक्रमण गरेकै हो’, उनले भने, ’मैले पेश गरेको त्यो त्यो डकुमेन्ट ’बमबार्ड द बुर्जुवा हेडक्वार्टर’ नै थियो ।’
उनले ओलीविरुद्ध दस्तावेजको बम हानेपछि आफूलाई बालुवाटारको कैदबाट मुक्ति मिलेको पनि बताएका छन् ।
’ओलीविरुद्ध पेश गरेको त्यो दस्तावेज बम नै हो। तीन वर्षभित्र कता कता बालुवाटारभित्र कैदी भएको जस्तो थियो’, उनले अगाडि भने, ’बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुका बालुवाटार, मत वाक्क भइसकेको थिएँ। जति पेले पनि तेल त आउने होइन ।’
उनले एउटा प्रधानमन्त्री र आफ्नै पार्टीको अध्यक्षविरुद्धको विद्रोह गम्भीर नै रहेको बताए। ’एउटा प्रधानमन्त्री र आफ्नो पार्टीको अध्यक्षविरुद्ध विद्रोह र आक्रमण अलिक गम्भीर नै थियो’, उनले भने, ’मेरो जोखिम मोल्ने आँटले जे पनि हुन सक्थ्यो। तर मैले देशलाई दुर्घटनाबाट पर्न जोगाएँ ।’
प्रचण्डले २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि आफूलाई बालुवाटारबाट मुक्ति मिलेको बताए ।
प्रचण्डले पूर्व माओवादी शक्तिबीच एकता अघि बढाइएको पनि बताएका छन्। उनले नेत्रविक्रम चन्द ’विप्लव’, मोहन वैद्य ’किरण’ र डा. बाबुराम भट्टराईसहितका शक्तिसँग एकताका लागि कुरा भइरहेको बताएका छन् ।