सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बैठक दिउँसो साढे २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गका बैठकमा एमाले सांसदले निरन्तर नाराबाजी गरेर सदनका कारबाही अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन् ।
एमालेका सांसदहरुको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो ।
यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गर्नुभएको थियो ।
आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन ।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मंगलबारको बैठक सहज रुपमा सञ्चालन गर्ने गरी सहमति निर्माणका लागि सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।