काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् ।
स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । अधिवेशन प्रक्रिया शुरू भैसक्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन नसकिने उनीहरूको धारणा छ ।
समानुपातिक प्रतिनिधित्वको माग गरिरहेका साथीहरूको मागमा आफूहरूको ऐक्यवद्धता रहेको उनीहरूले जनाएका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।
यसअघि तय भएअनुसार भदौ २३ भित्र वडा अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसको महाधिवेशन र क्षेत्रीय अधिवेशनको मितिबाहेक अन्य सबै तहका अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ । नयाँ कार्यतालिका अनुसार यही भदौ २७ लागि तोकिएको स्थानीय तहको अधिवेशन असोज ९ गते हुने भएको छ ।