काठमाडौं । लगातारको भारी वर्षाका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्र जलमग्न भएका छन् भने लगातारको वर्षाले उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह उच्च भएको छ ।
वाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा आएको बाढीले नदी आसपासका क्षेत्रहरु डुबाएको छ । बाढीका कारण करीब ४ सय घर डुबानमा परेका छन् । डेढ सय मानिसलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु जोखिममा परेका छन् ।
बल्खुको तरकारी बजार डुबानमा परेको छ भने टेकु, कालीमाटी क्षेत्र पनि डुबानमा परेको छ । कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, तल्लो नेपालटार, शंखमुल क्षेत्र पनि डुबानमा परेको छ ।
त्यस्तै, गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्ध भएका छन् । अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक ब्यवस्था प्रभावित भएको छ ।
बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा यस वर्षकै धेरै वर्षा भएको छ । उपत्यकामा ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।