काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका छन् ।
नेकपा (एमाले) काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो चुनौती दिएका हुन्। सम्बोधनको अधिकांश समय सभामुखप्रति आक्रामक रुपमा प्रस्तुत भएका पोखरेलले सभामुख सापकोटा सभामुख नभइ प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी गरे ।
‘सभामुखको गतिविधि हेर्नुस् त्यो संवैधानिक ओहोदा हो। तर, अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन्’, उनले भने, ‘आउँदो संसद् कसरी चलाउँछन् त्यसको हिसाबकिताब त्यहीँ गर्छौं।’
नेकपा (एमाले)ले कारबाही गरेका १४ जना सांसदहरुको कारबाही सम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति पोखरेल आक्रोशित बनेका हुन्।
‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने,’ उनले भने, ‘तर नेकपा एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई धन्काएर राख्ने? प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख।’
उनले आफ्नो पार्टीको नेतृत्वको सरकारबाट जसरी बाहिरिनु परेको छ त्यसको हिसाब किताब आउँदो चुनावबाट देखाउने चेतावनी दिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि नेपाली नागरिक जयसिंह धामी बेपत्ता घटनामा कूटनीतिक नोटिससमेत पठाउन नसक्ने अहिलेको सरकारबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ।
‘दार्चुलामा अहिले पनि नेपाली सीमा क्षेत्रभित्र भारतीय सेनाका हेलिकोप्टरहरु उडिरहेको खबर आइरहेका छन्,’ उनले भने,‘ तर, सरकारले बोल्न सकेको छैन। कम्फर्टटेबल भनिएको सरकारको गतिविधिले राष्ट्रिय स्वाधिनता कमजोर बनाएको छ।’
चीनसँग सीमाको कुनै समस्या नहुँदा पनि समिति बनाउने अहिलेको सरकारले भातरसँगका समस्याका बारेमा चूँ पनि बोल्न नसकेको उनको आरोप छ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग फिर्ता ल्याउने विषयमा केही बोल्न सकेको छैन,’ पोखरेलले भने, ‘आफ्नो भूमिलाई पनि आफ्नो भन्न नसक्नेहरुको अहिले सरकार छ।’