काठमाडौं । परराष्ट्र मन्त्रालयले पाँच दिनको समय दिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई स्पष्टीकरण सोधेको छ।
दशौं विश्व सम्मेलनको मिति नजिकिइरहेका बेला मन्त्रालयले संघको राष्ट्रिय समन्वय परिषद् तथा महाधिवेशन प्रतिनिधि(डेलिगेट्स) चयनका लागि भएका निर्वाचनमा देखिएको कमजोरी र धाँधलीका बारेमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)लाई स्पष्टीकरण सोधेको हो ।
एनसीसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विवरण संघको वेभसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा मन्त्रालयले एनआरएनए आईसीसीसँग स्पष्टीकरण माग गरेको हो।
गैरआवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो। संघको दशौं विश्वसम्मेलनका लागि मन्त्रालयले पनि छुट्टै समिति गठन गरिसकेको छ। जापानलगायतका केही देशहरुको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा संघकै उच्च नेतृत्वले हस्तक्षेप गरी स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिएको उजुरीपछि मन्त्रालय तातेको हो। परराष्ट्र मन्त्रालयले संघलाई यसरी स्पष्टीकरण सोधेको पहिलोपटक हो।
मन्त्रालयले पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। ‘माथि उल्लेख गरिएका विषयमा के भएको हो, सत्यतथ्य के हो, आजका मितिले पाँच दिनभित्र सत्य तथ्य जानकारी पठाइदिनुहुन निर्देशनानुसार अनुरोध छ,’ मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा लेखिएको पत्रमा उल्लेख छ।
मन्त्रालयले ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र अब हुने दशौं महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन स्वच्छ, धाँधलीरहित, निष्पक्ष र विश्वसनीय बनाउन संघले के-कस्तो व्यवस्था गरेको छ सो बारेमासमेत विस्तृत जानकारी गराउन’ संघलाई निर्देशन दिएको छ।
संघको एनसीसीहरुलाई अधिवेशन गर्न जुलाई १ देखि ३१ सम्मको मिति तोकेको थियो। अधिकांश एनसीसीहरुमा अनलाइन निर्वाचन गरिएको थियो। तर, अनलाइन निर्वाचन भनिए पनि निर्वाचनको निष्पक्षतामा भने धेरै स्थानमा प्रश्न उठेको थियो।