काठमाडौं । नेपाली फिल्म क्षेत्रमा लोकप्रिय मानिएको ‘कबड्डी’ फ्रेन्चाइजको पाँचौँ श्रृंखला ‘कबड्डी ५’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
निर्माता कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते अर्थात् अक्टोबर २३ लाई प्रदर्शन मिति घोषणा गरेको हो । कबड्डी ५’ दशैंको टीकाको दुई दिनपछि अर्थात् द्वादशीको दिनदेखि प्रदर्शनमा आउनेछ । यससँगै यस वर्षको दशैंमा नेपाली फिल्मको बक्स अफिस प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
यसअघि नै दशैंको अवसरमा ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शनमा आउने घोषणा भइसकेको छ । यी तीन फिल्म असोज ३० गते फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने तयारीमा छन् ।त्यसको एक सातापछि ‘कबड्डी ५’ हलमा आउने भएपछि दशैंको लामो बिदामा नेपाली फिल्मबीचको प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ ।
सार्वजनिक फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख पात्र काजी, बिके र छन्त्याल अर्थात् दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई फरक चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टरमा दयाहाङ क्रिकेट ब्याट बोकेर सोचमग्न अवस्थामा देखिएका छन् भने विजय र बुद्धिको हाउभाउले फिल्ममा तीन घनिष्ठ साथीबीचको सम्बन्ध र कथालाई रोचक ढंगले प्रस्तुत गरिने संकेत गरेको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको ‘कबड्डी ५’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल र प्रमिला राईलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ फिल्मका निर्माता हुन् ।